Statement of Fundamental Truth
Our Constitution
विश्वासका मूलभूत आधारहरु सम्बन्धी बयान
STATEMENT OF FUNDAMENTAL TRUTHS
बाइबल हाम्रो विश्वास र आचरणको पूर्ण मार्गदर्शक हो। यस विश्वासका मूलभूत आधारहरु हामी माझको संगतिको केवल एउटै आवाज हो (ताकि हामी सबैको अभिव्यक्ति एउटै होस् (१ कोरिन्थी १:१०; प्रेरित २:४२)। यस विश्वासका मूलभूत आधारहरुमा प्रयोग गरिएका शब्दहरू प्रेरणाद्वारा प्राप्त भएका होइनन्, वा यो सठीक हो भनी दाबी गर्नलाई पनि होइन, तर यहाँ व्यक्त गरिएका सत्यहरू पूर्ण सुसमाचार सेवाका लागि आवश्यक छन् भन्ने हाम्रो विश्वास हो। साथै, यस विश्वासका मूलभूत आधारहरुभित्र बाइबलका सम्पूर्ण सत्यहरू समेटिएका छन् भनी हामी दाबी गर्दैनौं, तर यसले हाम्रो आवश्यकता अनुसार आधारभूत सिद्धान्तहरूलाई भने समेट्दछ।
१. एकमात्र सत्य परमेश्वर
The One True God
अनन्त अस्तित्वमा रहनुहुने सत्य परमेश्वरले आफूलाई “म हुँ” भनेर प्रकट गर्नुभएको छ। उहाँ स्वर्ग र पृथ्वीका सृष्टिकर्ता र मानवजातिका मुक्तिदाता हुनुहुन्छ। साथै, उहाँले आफैंलाई पिता, पुत्र, र पवित्र आत्माको रूपमा सम्बन्ध र सहकार्यको आधारमा प्रकट गर्नुभएको छ (व्यवस्था ६:४; यशैया ४३:१०–११; मत्ती २८:१९; लूका ३:२२)।
२. एकमात्र सम्मानयोग्य त्रिएक परमेश्वर
THE ADORABLE GODHEAD
क. शब्दहरु परिभाषित (Terms Defined)
सर्वोच्च परमेश्वरसँग सम्बन्धित “त्रिएक (Trinity)” र “व्यक्तिहरू (Persons)” पवित्रशास्त्र बाइबलमा पाइने शब्दहरू होइनन्, तथापि यी शब्दहरु पवित्रशास्त्रसँग मेल खाएको पाइन्छ l यही निश्चित बुझाइ अनुसार हामी परमेश्वरको अस्तित्वलाई सम्मान गर्दै अरुहरुलाई ख्रीष्ट सम्बन्धी सिद्धान्त यसरी बताउँन सक्छौं: “त्रिएक” सिद्धान्त, “धेरै देवताहरु र धेरै प्रभुहरू” को सिद्धान्तभन्दा फरक छ। तसर्थ, हामी निश्चयताका साथ भन्न सक्छौं, हाम्रा परमप्रभु परमेश्वर त्रिएकको रुपमा एकमात्र परमेश्वर हुनुहुन्छ वा एकमात्र परमेश्वर तीन व्यक्तिहरूको रुपमा हुनुहुन्छ, अनि यो सिद्धान्त पूर्ण रुपमा पवित्रशास्त्र बाइबल सम्मत छ (उदाहरणका लागि मत्ती २८:१९; २ कोरिन्थी १३:१४; यूहन्ना १४:१६–१७)।
ख. त्रिएक परमेश्वरमा भिन्नता र सम्बन्ध (Distinction and Relationship in the Godhead)
ख्रीष्टले त्रिएक परमेश्वर अन्तर्गतका व्यक्तिहरू माझको भिन्नता बारे सिकाउनुभयो, जसलाई उहाँले पिता, पुत्र, र पवित्र आत्माको निर्दिष्ट सम्बन्धमा व्यक्त गर्नुभयो l तर, यस भिन्नता र सम्बन्धको स्वभाव बारे व्याख्या नगरिएकाले यो विषय मानव समझबाट टाडा र रहश्यात्मक रहेको छ (लूका १:३५; १ कोरिन्थी १:२४; मत्ती ११:२५–२७; २८:१९; २ कोरिन्थी १३:१४; १ यूहन्ना १:३–४)।
ग. पिता, पुत्र र पवित्र आत्मा एक व्यक्तिको रुपमा रही एकतामा हुनुहुन्छ (Unity of the One Being of Father, Son, and Holy Spirit)
त्यस अनुरुप पुत्रमा यस्तो विशेषता छ जसले उहाँलाई पिता नभई पुत्रको रुपमा स्थापित गर्छ; र पवित्र आत्मामा यस्तो विशेषता छ जसले उहाँलाई न पिता न पुत्र, बरु पवित्र आत्माको रुपमा स्थापित गर्छ।
तसर्थ, पिता “सृष्टिकर्ता” हुनुहुन्छ, पुत्र “पिताको रुप” हुनुहुन्छ र पवित्र आत्मा “पिता र पुत्रका तर्फबाट” हुनुहुन्छ l यसैकारण त्रिएक परमेश्वरमा रहनु भएका तीन व्यक्तिहरु एकतामा हुनुभएकाले उहाँ एकमात्र सर्वशक्तिमान परमप्रभू परमेश्वर हुनुहुन्छ, त्यसैले उहाँको नाम एकमात्र परमप्रभु परमेश्वर हो (यूहन्ना १:१८; १५:२६; १७:११, २१; जकरिया १४:९)।
घ. त्रिएक परमेश्वरमा पहिचान र सहकार्य (Identity and Cooperation in the Godhead)
व्यक्तिको दृष्टिकोणले पिता, पुत्र र पवित्र आत्मा कहिल्यै एउटै हुनुहुन्न; न सम्बन्धको हिसाबले त्यहाँ कुनै भ्रम छ; न त त्रिएक परमेश्वरको दृष्टिकोण विभाजित छ; न नै सहकार्यको दृष्टिकोणले प्रतिरोध छ। सम्बन्धको हिसाबले पुत्र, पितामा हुनुहुन्छ र पिता, पुत्रमा हुनुहुन्छ। सङ्गतिका हिसाबले पुत्र, पितासँग हुनुहुन्छ र पिता, पुत्रसँग हुनुहुन्छ। अधिकारको दृष्टिकोणले पिता, पुत्रबाट हुनुहुन्न, तर पुत्र, पिताबाट हुनुहुन्छ।
स्वभाव, सम्बन्ध, सहकार्य र अधिकारको दृष्टिकोणले पवित्र आत्मा, पिता र पुत्रबाट हुनुहुन्छ।
यसकारण, त्रिएक परमेश्वरमा कुनै पनि व्यक्तिको अस्तित्व न एक्लो छ न ता उहाँहरु छुट्टाछुट्टै काम गर्नुहुन्छ (यूहन्ना ५:१७–३०, ३२, ३७; ८:१७–१८)।
ङ. “प्रभु येशू ख्रीष्ट,” एकमात्र उपाधि (The Title, Lord Jesus Christ)
“प्रभु येशू ख्रीष्ट” नाउँ, एकमात्र विशिष्ट उपाधि हो। नयाँ करारमा यो नाउँ न पिताको निम्ति, न पवित्र आत्माको निम्ति प्रयोग गरिएको छ। यसैले, यो उपाधि पूर्ण रूपले परमेश्वरको पुत्रको लागि आरक्षित रहेको छ (रोमी १:१–३, ७; २ यूहन्ना ३)।
च. प्रभु येशू ख्रीष्ट, परमेश्वर हामीसँग (The Lord Jesus Christ, God with us)
अलौकिक र अनन्त स्वभावको दृष्टिकोणले प्रभु येशू ख्रीष्ट, पिताको एकमात्र प्रिय पुत्र हुनुहुन्छ; तर मानव स्वभावको दृष्टिकोणले उहाँ साँच्चै मानिसको पुत्र हुनुहुन्छ। तसर्थ, उहाँ परमेश्वर र मानव दुवै हुनुहुन्छ; उहाँ परमेश्वर र मानव दुवै हुनुभएकोले उहाँ “इम्मानुएल” अर्थात् “परमेश्वर हामीसँग” हुनुहुन्छ (मत्ती १:२३; १ यूहन्ना ४:२, १०, १४; प्रकाश १:१३, १७)।
छ. “परमेश्वरको पुत्र,” एकमात्र उपाधि (The Title, Son of God)
“इम्मानुएल” भन्ने नाउँले परमेश्वर र मानव दुवैलाई एउटै व्यक्तिमा समेटेको छ, जो हाम्रा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। त्यसकारण, “परमेश्वरको पुत्र” को उपाधिले उहाँको परमेश्वरत्व दर्शाउँछ, र “मानिसको पुत्र” को उपाधिले उहाँ पूर्ण मानव हुनुहुन्छ भन्ने दर्शाउँछ। त्यसैले, “परमेश्वरको पुत्र” को उपाधि अनन्तकालसँग सम्बन्धित छ, र “मानिस्को पुत्र” को उपाधि समय वा अवधिसँग सम्बन्धित छ (मत्ती १:२१–२३; २ यूहन्ना ३; १ यूहन्ना ३:८; हिब्रू ७:३; १:१–१३)।
ज. “ख्रीष्ट” सम्बन्धी सिद्धान्तको उल्लङ्घन (Transgression of the Doctrine of Christ)
येशू ख्रीष्टले “परमेश्वरको पुत्र” को उपाधि केवल मानव रुप धारण गर्न वा उद्धारको कामसँग जोडिनको लागि मात्र प्राप्त गर्नुभएको हो भनी कसैले भन्छ भने, त्यो “ख्रीष्ट” सम्बन्धी सिद्धान्तको उल्लङ्घन हो। यसरी पिता वास्तविक र अनन्त होइन, पुत्र वास्तविक र अनन्त होइन भन्नु परमेश्वरको अस्तित्व अन्तर्गत सम्बन्ध र भिन्नतालाई इन्कार गर्नु हो; त्यसको अर्थ पिता र पुत्रलाई इन्कार गर्नु हो, र येशू ख्रीष्ट देह वा शरीरमा आउनुभएको हो भन्ने सत्यलाई विस्थापन गर्नु हो (२ यूहन्ना ९; यूहन्ना १:१, २, १४, १८, २९, ४९; १ यूहन्ना २:२२,२३; ४:१–५; हिब्रू १२:२)।
झ. प्रभुको रूपमा महिमित हुनुभएको येशू ख्रीष्ट (Exaltation of Jesus Christ as Lord)
परमेश्वरका पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टले आफ्नै बलिदानद्वारा हाम्रा पापहरू पखाल्नुभयो, उहाँ सर्वोच्चमा विराजमान हुनुहुने महामहिमको दाहिने बाहुलीपट्टि आसीन हुनुभयो l स्वर्गदूतहरू, प्रधानताहरू र शक्तिहरू उहाँको अधीनमा आए । अनि उहाँ प्रभु र ख्रीष्ट घोषित हुनुभयो, र उहाँले पवित्र आत्मालाई पठाउनुभयो ताकि अन्तसम्मै हामी येशूको नाउँमा घुँडा टेकी परमेश्वर पिताको महिमाको निम्ति येशू नै ख्रीष्ट हुनुहुन्छ भनी स्वीकार गर्न सकौं l तब पुत्र पिताको अधीनमा रहनुहुनेछ, ताकि
परमेश्वर नै सबै थोकका सर्वेसर्वा होउन् (हिब्रू १:३; १ पत्रुस ३:२२; प्रेरित २:३२–३६; रोमी १४:११; १ कोरिन्थी १५:२४–२८)।
ञ. पिता र पुत्रलाई बराबर सम्मान (Equal Honor to the Father and to the Son)
यसबाहेक, पिताले पुत्रलाई सारा न्याय सुम्पनु भएकोले स्वर्ग र पृथ्वीका सबैले पुत्र सामु अविलम्ब घुँडा टेकी कर्तव्य पालन गर्नुपर्ने मात्र होइन, त्रिएक परमेश्वरमा स्थापित सम्बन्धलाई दर्शाउँने विषय बाहेक (हेर्नुहोस् खण्ड ख, ग अनि घ), पवित्र आत्माको अवर्णनीय आनन्दमा परमेश्वरत्वका सबै गुणहरू पुत्रमा भएकाले उहाँलाई श्रेय दिनुपर्छ, उहाँका उपाधिहरु र नामहरु अनुसार उहाँलाई पूर्ण सम्मान गर्नुपर्छ र महिमा दिनुपर्छ l यसरी, हामी पिता र पुत्रलाई बराबर सम्मान दिन्छौं (यूहन्ना ५:२२–२३; १ पत्रुस १:८; प्रकाश ५:६–१४; फिलिप्पी २:८–९; प्रकाश ७:९–१०; ४:८–११)
३. प्रभु येशू ख्रीष्टको परमेश्वरत्व
The Deity of the Lord Jesus Christ
प्रभु येशू ख्रीष्ट परमेश्वरको अनन्त पुत्र हुनुहुन्छ भन्ने यथार्थ पवित्रशास्त्र बाइबलले निम्नप्रकार घोषणा गर्दछ:
क) उहाँको जन्म कन्याबाट भयो (मत्ती१:२३; लूका १:३१, ३५) l
ख) उहाँको जीवन पापरहित थियो (हिब्रू ७:२६; १ पत्रुस २:२२) l
ग) उहाँले आश्चर्यकर्महरु गर्नुभयो (प्रेरित २:२२; १०:३८)
घ) मानिसको पापको सट्टामा उहाँ क्रूसमा बलिदान हुनुभयो (१ कोरिन्थी १५:३; २ कोरिन्थी ५:२१) l
ङ) उहाँ मृत्युबाट शारीरिक रुपमा पुनरुत्थान हुनुभयो (मत्ती २८:६; लूका २४:३९; १ कोरिन्थी १५:४) l
च) उहाँ परमेश्वर पिताको दाहिने हाततर्फ महिमित हुनुभयो (प्रेरित १:९, ११; २:३३; फिलिप्पी २:९–११; हिब्रू १:३) l
४. मानिसको पतन
The Fall of Man
परमेश्वरले मानिसलाई असल र धर्मी सृष्टि गर्नुभएको थियो, किनभने परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरुपमा बनाऔं l”
तर मानिसले परमेश्वरको आज्ञा स्वेच्छाले उल्लङ्घन गरेको कारण उसको पतन भयो, जसका कारण मानिसको शारीरिक मृत्यु मात्र होइन, तर आत्मिक मृत्यु पनि भयो, अर्थात् उ परमेश्वरबाट अलग भयो (उत्पत्ति १:२६–२७; २:१७; ३:६; रोमी ५:१२–१९)।
५. मानिसको उद्धार
The Salvation of Man
मानिसको उद्धार (छुट्कारा) को निम्ति एक मात्र आशा, परमेश्वरका पुत्र येशू ख्रीष्टले बहाउनु भएको रगतमा छ l उद्धार प्राप्त गर्नका निम्ति शर्तहरु यसप्रकार छन्: परमेश्वर सामु पश्चात्ताप गरी प्रभु येशू ख्रीष्टमा विश्वास गर्नाले उद्धार प्राप्त हुन्छ। पवित्र आत्माद्वारा पुनर्जन्म र नवीकरणका साथै अनुग्रहबाट विश्वासद्वारा मानिस धर्मी ठहरिएर अनन्त जीवनको आशामा परमेश्वरको सन्तान बन्दछ (लूका २४:४७; यूहन्ना ३:३; रोमी १०:१३–१५; एफिसी २:८; तीतस २:११; ३:५–७)।
उद्धारका प्रमाणहरू यसप्रकार हुन्छन्: उद्धारको प्रत्यक्ष प्रमाण चाहिँ अन्तस्करणमा पवित्र आत्माको साक्षी हो (रोमी ८:१६) l बाहिरी प्रमाण चाहिँ सबै मानिसहरू सामु धार्मिकता र साँचो पवित्रताको जीवनयापन गर्नु हो (एफिसी ४:२४; तीतस २:१२)।
६. चर्चका विधिहरू
The Ordinances of the Church
क) पानीको बप्तिस्मा (Baptism in Water)
पवित्रशास्त्रमा डुब्की बप्तिस्मा-विधि अपनाउन आज्ञा दिइएको छ। जतिले ख्रीष्टलाई उद्धारकर्ता र प्रभु मानी विश्वास र पश्चात्ताप गर्छन्, तिनीहरूले पानीमा डुब्की बप्तिस्मा लिनु आवश्यक छ। यसरी उनीहरूले संसारलाई घोषणा गर्दछन् कि उनीहरू ख्रीष्टसँगै मरेका छन् र उहाँसँगै नयाँ जीवनमा हिँड्न पुनर्जीवित भएका छन् (मत्ती २८:१९; मर्कूस १६:१६; प्रेरित १०:४७–४८; रोमी ६:४)।
ख) पवित्र प्रभूभोज (Holy Communion)
पवित्र प्रभुभोजमा दुइ तत्वहरु प्रयोग गरिन्छ l ती हुन् रोटी र दाखरस l यसले एक प्रतीक स्वरुप हामी प्रभु येशू ख्रीष्टको परमेश्वरीय स्वभावमा सहभागी भएको (२ पत्रुस १:४), उहाँको कष्ट र मृत्यु को स्मरण गरेको (१ कोरिन्थी ११:२६); अनि भविष्यवाणी अनुसार उहाँ “नआउन्जेलसम्म” सबै विश्वासीहरू एकसाथ जोडिएको बुझाउँछ (१ कोरिन्थी ११:२६) l
७. पवित्र आत्मामा बप्तिस्मा
The Baptism in the Holy Spirit
हाम्रा प्रभु येशू ख्रीष्टको आदेश अनुसार सबै विश्वासीहरूले पिताको प्रतिज्ञालाई उत्सुकताकासाथ प्रतीक्षा गर्नुपर्छ र त्यो प्राप्त गर्नलाई गहिरो चाहना राख्नु पर्दछ–त्यो भनेको पवित्र आत्मा र आगोमा बप्तिस्मा पाउनु हो। यो अनुभव प्राचिन ख्रीष्टियन चर्चमा सामान्य थियो। यस अनुभवले जीवन र सेवा, तथा सेवाकार्यका लागि आत्मिक वरदानहरू र तिनको उपयोग गर्नको निम्ति शक्ति प्रदान गर्दछ (लूका २४:४९; प्रेरित १:४,८; १ कोरिन्थी १२:१–३१)। यो नयाँ जन्मपछिको एक छुट्टै अनुभव हो (प्रेरित ८:१२–१७; १०:४४–४६; ११:१४–१६; १५:७–९)।
पवित्र आत्माको बप्तिस्मासँगै आत्माको भरपुरीमा चुल्लिएर छचल्किएको आनन्दित जीवन प्राप्त भएको अनुभव हुन्छ (यूहन्ना ७:३७–३९; प्रेरित ४:८), परमेश्वरप्रति गहिरो श्रद्धा सृजना हुन्छ (प्रेरित २:४३; हिब्रू १२:२८), परमेश्वर र उहाँको सेवाप्रति गहिरो समर्पणता जाग्छ (प्रेरित २:४२); ख्रीष्ट, उहाँको वचन, र हराएका आत्माहरूप्रति भित्रैबाट झनै सक्रिय प्रेम उर्लिएर आउँछ (मर्कूस १६:२०) l
८. पवित्र आत्मामा बप्तिस्मा पाएको आरम्भिक शारीरिक प्रमाण
The Initial Physical Evidence of the Baptism in the Holy Spirit
पवित्र आत्मामा बप्तिस्मा पाएको आरम्भिक शारीरिक चिन्ह चाहिँ पवित्र आत्माले विश्वासीहरूलाई दिनुभएको उच्चारण बमोजिम अन्य भाषाहरुमा बोल्नु हो (प्रेरित २:४)। अन्य भाषाहरुमा बोल्नु र अन्य भाषाहरूको वरदान निचोडमा एउटै भएपनि (१ कोरिन्थी १२:४–१०,२८), उद्देश्य र प्रयोगमा भने फरक हुन्छ।
९. पवित्रीकरण
Sanctification
पवित्र आत्मामा बप्तिस्मा पाएको आरम्भिक शारीरिक चिन्ह चाहिँ पवित्र आत्माले विश्वासीहरूलाई दिनुभएको उच्चारण बमोजिम अन्य भाषाहरुमा बोल्नु हो (प्रेरित २:४)। अन्य भाषाहरुमा बोल्नु र अन्य भाषाहरूको वरदान निचोडमा एउटै भएपनि (१ कोरिन्थी १२:४–१०,२८), उद्देश्य र प्रयोगमा भने फरक हुन्छ।
१०. चर्च र यसको मिशन
The Church and its Mission
चर्च ख्रीष्टको शरीर हो, पवित्र आत्माद्वारा परमेश्वरको वासस्थान हो, र उहाँले यसलाई महान आज्ञा पूरा गर्नको निम्ति नियुक्त गर्नुभएको छ l त्यसकारण, पवित्र आत्माद्वारा जन्मेका प्रत्येक विश्वासी स्वर्गमा नाउँ दर्ता भएर पहिला जन्मेकाहरूका सभाको एक अभिन्न अङ्ग हो (एफिसी १:२२–२३; २:२२; हिब्रू १२:२३)।
मानव जातिप्रति परमेश्वरको उद्देश्य यसप्रकार छ: हराएकालाई खोज्नु र उनीहरुको उद्धार गर्नु, मानिसहरुद्वारा उहाँको आराधना गरिनु, अनि उहाँको पुत्रको स्वरूपमा विश्वासीहरुको एक समूह (शरीर वा चर्च) निर्माण गर्नु हुन् l तसर्थ, एसेसेम्ब्लीज अफ गड (The Assemblies of God) सँग आवद्ध चर्च बन्नुको प्राथमिक कारण निम्नप्रकार छन्:
- क. संसारमा सुसमाचार प्रचारको निम्ति परमेश्वरको एक माध्यम बन्ने (प्रेरित १:८; मत्ती २८:१९, २०; मर्कूस १६:१५-१६)।
- ख. एउटा यस्तो साझा समूह बन्ने जहाँ मानिस जातिले परमेश्वरको आराधना गर्न पाउन् (१ कोरिन्थी १२:१३)।
- ग. उहाँको पुत्र येशूको स्वरुपमा बनिंदै सिद्धतातर्फ निरन्तर लम्कने सन्तहरूको एक यस्तो समूह बन्ने जो परमेश्वरको उद्देश्य पूरा गर्ने एक माध्यम बन्दछ। (एफिसी ४:११-१६; १ कोरिन्थी १२:२८;१४:१२)।
- घ. एउटा यस्तो सन्तहरुको समूह बन्ने जसले संसारमा परमेश्वरको प्रेम र दया प्रदर्शन गर्दछ। (भजन ११२:९; गलाती २:१०; ६:१०; याकूब १:२७)।
वास्तवमा, The Assemblies of God अस्तित्वमा आउनुको दुरगामी कारण चाहिँ नयाँ करारको प्रेरितीय ढाँचालाई निरन्तर महत्व दिनु र त्यस अनुरुप जिउनु हो l साथै, यस उद्देश्यलाई आत्मसात् गरी विश्वासीहरूलाई त्यसै अनुरुप आवश्यक शिक्षा दिनुका साथै उनीहरु पवित्र आत्मामा बप्तिस्मा पाउँन् भनी उत्साह दिनु हो l फलस्वरुप त्यस अनुभवद्वारा विश्वासीहरूले तल उल्लिखित परिणामहरु प्राप्त गर्नेछन्:
- क. विश्वासीहरू पवित्र आत्माको शक्तिमा सुसमाचार प्रचार गर्न सक्षम बन्नेछन्, जसमा अलौकिक चिन्हहरू पनि प्रदर्शन हुनेछन् (मर्कूस १६:१५-२०; प्रेरित ४:२९-३१; हिब्रू २:३- ४)
- ख. परमेश्वरसँगको सम्बन्धमा, विश्वासीहरुले आराधनालाई एक नयाँ आयामको रुपमा प्राप्त गर्नेछन् (१ कोरिन्थी २:१०-१६:१ कोरिन्थी १२ देखि १४ अध्यायहरु)।
- ग. नयाँ करारको समयमा झैं खीष्टको शरीरमा सुधार र उन्नतिको निम्ति आत्माको फल, आत्मिक वरदानहरु, र सेवाकार्यहरूद्वारा विश्वासीहरु सन्चालित भई सेवा गर्न सक्षम बन्नेछन् (गलाती ५:२२-२६:१ कोरिन्थी १४:१२; एफिसी ४:११,१२;१ कोरिन्थी १२:२८; कलस्सी १:२९)
११. सेवाकार्य
The Ministry
हाम्रा परमेश्वरले अलौकिक बोलावट र पवित्रशास्त्रद्वारा चर्चलाई मार्गदर्शन दिनको निम्ति तीन-तहका उद्देश्यसहित सेवाकार्यहरु स्थापित गरिदिनु भएको छ l ती हुन्: (१) संसारमा सुसमाचार प्रचार गर्न (मर्कूस १६:१५–२०), (२) परमेश्वरको आराधना गर्न (यूहन्ना ४:२३,२४), अनि (३) उहाँको पुत्र येशूको स्वरुपमा बनिंदै सिद्धतातर्फ निरन्तर लम्किने सन्तहरूको एक समूह निर्माण गर्न (एफिसी ४:११–१६)।
१२. दैविक चंगाई
Divine Healing
सुसमाचारको एक अभिन्न अङ्ग दैविक चंगाई (रोगबाट अलौकिक आरोग्यता प्राप्त गर्नु वा निको हुनु) हो। क्रूसको बलिदान (Atonement) द्वारा यो वरदान सबै विश्वासीका निम्ति उपलब्ध छ (यशैया ५३:४,५; मत्ती ८:१६,१७; याकूब ५:१४–१६)।
१३. धन्यको आशा
The Blessed Hope
चर्चका निम्ति धन्यको आशा भनेको, हाम्रा प्रभु ख्रीष्टको चाडैं हुने आगमन बेला ख्रीष्टमा मरेकाहरूको पुनरुत्थान र बाँचिरहेकाहरुको परिवर्तनसाथ् उहाँसँगै माथि उठाइनु हो (१ थेसलोनिकी ४:१६,१७; रोमी ८:२३; तीतस २:१३; १ कोरिन्थी १५:५१,५२)।
१४. ख्रीष्टको एक हजार वर्षे राज्यशासन
The Millennial Reign of Christ
हाम्रो धन्यको आशामा ख्रीष्टको दोस्रो आगमन समावेश छ l त्यसपछि प्रभु आफ्ना सन्तहरूका साथ् पृथ्वीमा एक हजार वर्ष शासन गर्न भौतिक रुपमा फर्कनु हुनेछ (जकरिया १४:५; मत्ती २४:२७,३०; प्रकाश १:७; १९:११–१४; २०:१–६)। त्यस एक हजार वर्षे शासनकालमा इस्राएल राष्ट्रको उद्धार हुनेछ (इजकिएल ३७:२१,२२; सपन्याह ३:१९,२०; रोमी ११:२६,२७) र विश्वव्यापी शान्ति स्थापना हुनेछ (यशैया ११:६–९; भजन ७२:३–८; मीका ४:३–४)।
१५. अन्तिम न्याय
The Final Judgment
अन्तिम न्याय हुनेछ, जसमा मृत्यु भएका दुष्ट मानिसहरुको पुनरुत्थान हुनेछ अनि तिनीहरूका काम अनुसार तिनीहरुलाई न्याय गरिनेछ l जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइँदैन तिनीहरुलाई शैतान र त्यसका दूतहरू, त्यो पशु (beast) र झूटो अगमवक्तासँगै जलिरहेको गन्धक र अग्नि-कुण्डमा फालिनेछ, जुन दोस्रो मृत्यु हो (मत्ती २५:४६; मर्कूस ९:४३–४८; प्रकाश १९:२०; २०:११–१५; २१:८)।
१६. नयाँ स्वर्ग र नयाँ पृथ्वी
The New Heavens and the New Earth
“उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ” (२ पत्रुस ३:१३; प्रकाश २१ र २२ अध्यायहरु)।